+

गीतिसङ्ग्रह ‘खुशीका रङ्गहरू’ सार्वजनिक

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

सोमबार यहाँ गायिका खुशी थुलुङ्ग राईको गीतिसङ्ग्रह  ‘खुशीका रङ्गहरू’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतका माध्यमले सर्जकले दिने सन्देश सिधै समाजमा पुग्ने बताउनुभयो । ‘गीतसङ्गीतलाई मनोरञ्जनकै रुपमा मात्र लिनुहुँदैन, यसले समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले म सर्जकलाई त्यहीअनुसार कला र संस्कृतिलाई प्रयोग गर्न आग्रह गर्छु, यद्यपि गीतको आफ्नै शैली हुन्छ, यो अहिले सामान्य सुनियता पनि कालान्तरमा यसको महत्व दर्सिन्छ’ पूर्वमन्त्री राईले भन्नुभयो । 

उहाँले गीतिसङ्ग्रहमा समावेश आठ गीतमध्ये श्रव्यदृश्य तयार पारिएको पहिलो गीत ‘प्रेमको अर्थ’ हेरेपछि अभिनय गर्ने मोडल रुकमान लिम्बू र करिश्मा श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, गायिकाले सुमधुर स्वरमार्फत सजिलै मोहित गर्न सक्नुहुन्छ, म उहाँहरूलाई गीतसङ्गीतलाई निरन्तरता दिन आग्रह गर्दछु ।’

गायिका राईले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु, म नयाँ भए तापनि यस क्षेत्रलाई नियाल्दै अगाडि बढिरहेको सङ्गीतको विद्यार्थी हुँ, प्राप्त प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’ गायिका राईले भन्नुभयो । 

सार्वजनिक गीत ‘प्रेमको अर्थ’ मा क्रान्ति सुब्बाले शब्द रचना र हरी लम्सालले सङ्गीत दिनुभएको छ । गीतको श्रव्यदृश्यमा देखिनुभएका मोडल लिम्बूले एक प्रेमिल जोडीको जीवनलाई श्रव्यदृश्यमा देखाइएको बताउनुभयो । 

‘गीतमा श्रीमतीलाई माया गर्ने श्रीमान्को कथालाई देखाइएको छ, उसको निःस्वार्थ भाव र प्रेमले श्रीमतीलाई आकर्षित गर्ने पक्षलाई हामीले श्रव्यदृश्यमा समेटेका छौँ, यो गीतको श्रव्यदृश्यले प्रेमलाई परिणामको आशा नगरी व्यक्त गर्न प्रेरित गर्छ’ मोडल लिम्बूले भन्नुभयो । गीतको श्रव्यदृश्यलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै