+

प्रधानमन्त्री–जापानका विदेशमन्त्री भेटवार्ता :आर्थिक सहकार्यबारे छलफल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

आजै आउनुभएका जापानका विदेशमन्त्री योकोले प्रधानमन्त्रीसँग आइतबार सिंहदरबारमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा  उहाँहबीच द्विपक्षीय चासो, आर्थिक सहकार्य लगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।

‘नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,’ प्रधानमन्त्रीले भन्नुभयो– ‘आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।’ 

जापानका विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा  परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा लगायत उच्च अधिकारीको सहभागिता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै