+

नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर

सर्लाही । लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित साहेवगञ्जमा मापदण्ड विपरीत संचालनमा रहेको  ‘प्रिन्स क्रसर’  प्रमुख जिल्ला अधिकारी कोमल धमलाको सक्रियतामा  अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।

घना बस्तीवीचमा मापदण्ड विपरीत संचालनमा रहेको ‘प्रिन्स क्रसर’का कारणसिंगो बस्तीका ४ सय ५० घरपरिवार विस्थापित  हुने अवस्थामा पुगेको समाचार नेपालकैरनमा प्रकाशित भएपछि प्रजिअ धमला नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा क्रसर मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बस्तीबीचको यो क्रसर संचालनमा रोक लगाइएको प्रजिअ धमलालले नेपालकैरनसँग बताउनुभयो । 

मापदण्ड विपरीत रहेको भन्दै प्रजिअले क्रसर बन्द गराएपछि स्थानीयले राहतको महशुस गरेका छन् । ‘केही दिन भयो स्वच्छ स्वास फेर्न पाएका छौँ,’ धुलो र धुवाँमा निसास्सिएर गुजारा चलाउँदै आएका स्थानीय नारायण रिमालले भन्नुभयो, ‘यसलाई स्थायी रुपमा बन्द गर्नुपर्छ । बस्तीको बीचमा क्रसर संचालन गरेर यहाँका स्थानीयको जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको थियो, बन्द गराउन हामीले पटक पटक पहल गरेपनि पहुँच र पैसाको बलमा क्रसरले रजाईं गर्दै आएको थियो’ उहाँले भन्नुभयो ।     

क्रसरबाट निस्किएको धुलोको मुश्लो (दायाँ) र धुलोले ढाकिएको साहेवगन्ज गाउँको दृश्य (बायाँ)
२०६५ सालमा स्थानीयको ‘कीर्ते हस्ताक्षर’ गरेर दर्ता भएको यो क्रसरले साहेवगञ्जमा ३ विगाह क्षेत्रफलमा फैलिएको सार्वजनिक खेल मैदान जबरजस्ती कब्जामा लिएको छ । २०६८ सालसम्म स्थानीय युवाले फुटवल खेल्ने सार्वजनिक खेल मैदान अहिले क्रसरको गोदाममा परिणत भएको छ  । स्थानीय युनिक फुटवल क्वलका अध्यक्ष शिवहरी गौतम फुटवल मैदान खालि गर्न आफूहरुले धेरै संघर्ष गरेको सुनाउनुहुन्छ । अध्यक्ष गौतमले  भन्नुभयो, ‘रातारात हजारौँ टिफर गिट्टी र वालुवा थुपारेर सरकारी जग्गा हडप्न कसरी सम्भव भयो ?’ प्रतिप्रश्न गर्दै भन्नुभुहन्छ, ‘यसमा ठूलै शक्तिकेन्द्रको मिलेमतो हुनुपर्छ ।’

क्रसरले स्थानीय कालिका सामुदायिक वनको ४० विगाह भन्दा धेरै सरकारी जग्गा समेत अतिक्रमण गरेको छ । प्रजिअ धमलासंगको छलफलमा क्रसर संचालक पुरन अधिकारीले वन क्षेत्र र फुटवल मैदान ‘भाडामा लिएको’ दाबी गर्नुभएको थियो । सार्वजनिक जग्गा भाडामा लिएको भए यसको आधिकारिकता पेश गर्न प्रजिअले निर्देशन दिएपनि संचालक अधिकारीले अहिलेसम्म कुनै प्रमाण पेश गर्नुभएको छैन । सरकारी जग्गा भाडामा लिएको हो वा जबरजस्ती कब्जामा लिएको हो भन्नेबारेमा  अनुसन्धान भइरहेको प्रजिअ धमलाको भनाइ छ ।

क्रसर संचालक अधिकारीले सरकारी जग्गा भाडामा लिएको दाबी गरेपनि यसको कुनै प्रमाण उहाँले दिनुभएको छैन । ‘उहाँसँग कुनैपनि निकायले कुनै सम्झौता गरेको कागजात छैन । कुनै निकायलाई भाडा तिरेको रेकर्ड पाईदैन,’ कालिका सामुदायिक वनका अध्यक्ष पुष्पराज खड्का भन्नुहुन्छ,  ‘क्रसरले  कुनै भाडा सम्झौता गरेको वा भाडा तिरेको मलाई थाह छैन । वनसँग सझौता गरेर वन क्षेत्र उपयोग गरेको भन्ने उहाँको भनाई आफ्नु कर्तुत ढाकछोप गर्ने बहानाबाजी मात्रै हो । म गत भदौदेखि आएको हो, मेरो कार्यकालमा क्रसरले कुनै भाडा तिरेको छैन र सम्झौताको हुनै रेकर्ड पनि हामीसँग छैन’ उहाँले थप्नुभयो, ‘सामुदायिक वन संचालन सम्बन्धि नियमले वनक्षेत्रलाइै यसरी भाडामा दिन पनि मिल्दैन । भाडामा लिएको भन्ने बिषय सरासर झुट हो ।’
१७ वर्षअघि साहेवगन्जको सार्वजनिक चउर (दायाँ) र क्रसरले कब्जा गरेपछिको दृश्य (बायाँ)
स्थानीय लक्ष्मी गौतम क्रसरले ऐतिहासिक कालिन्जोर खोला निलेकोमा दुःखित हुनुहुन्छ । ‘वारिपारि आँखाले देखेसम्म बगर थियो, बीचमा खोला, तर खै अहिले नाम निशाना छैन ।’  प्राकृतिक स्रोत साधनको यसरी चरम दोहन हुँदा पनि कुनै निकायले रोक्न प्रयास नगरेको उहाँको गुनासो छ । ‘हामीले धेरैपटक आन्दोलन गर्यौँ, क्रसरले दिएको हैरानीका बारेमा स्थानीय सरकारलाई सजग गरायौँ, तर मिचिएका्े सरकारी जग्गा फिर्ता ल्याउनु त कता हो कता,उल्टै उनीहरुहरुबाटै क्रसरको संरक्षण भयो ।’ 


चक्रेको पुलदेखि टिकुलिया सम्मको सयौँ रोपनी वनक्षेत्र कब्जामा लिएर गिट्टी थुपारेर पहाड बनाइएको छ ।  १५ वर्षदेखि क्रसरले सामुदायिक वनमा यसरी कब्जा जमाइरहेपनि वन संरक्षणको जिम्मेवारी पाएको डिभिजन वन कार्यालय भने यस विषयमा बेखवर छ । डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत मन्जुर अहमद यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ । नेपालकैरनसँग कुरागर्दै अधिकृत अहमदले भन्नुभयो, ‘वनको जग्गा कब्जामा लिएको मलाई जानकारी छैन, यदि कसैले यसो गरेको रहेछ भने संरक्षणका लागि हामी तुरुन्तै पहल गछौँ ।’
 

 ‘क्रसर उद्योग बस्तीबीचमा संचालनमा छ, दर्ता भएरै संचालनमा रहेको भएपनि धेरै मापदण्ड पूरा नगरेका कारण अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका छौ,’ प्रजिअ धमलालले नेपालकैरनसँग भन्नुभयो, क्रसरबाट निस्किएको धुलो र धुँवाले निस्सासिएर स्थानीयबासी उकुसमुकुस भएको एउटा विषय हो भने अर्को चाँहि यसले सयौँ  विगाह सरकारी जग्गा अवैध रुपमा हडपेको पायौँ। जसले गर्दा यसलाई बन्द गर्न आदेश दिएका छौँ ।’

विक्रम सम्मत २०७२ सालदेखि नविकरण समेत नभई संचालनमा रहेको क्रसरबाट निस्किएको धुवाँ र धुलोले खपिनसक्नु असर गरिरहेको स्थानीयको वडा नम्बर १७ का प्रशासकीय प्रमुख वासु पौडेल बताउनुहुन्छ । ‘तत्कालीन रानीगन्ज गाउँ विकास समिति हुँदा पनि म यहाँको सचिव थिए, क्रसरले बस्तीमा पुर्याएको असर अपुरणीय छ, यस बारेमा मलाई राम्रोसँग जानकारी पनि छ, तर तत्कालिन वडाध्यक्ष नवराज अधिकारी नै यसको संचालक भएका कारण मापदण्ड विपरीतको यो क्रसर हटाउन सकिएन ।’ क्रसरले सयौँ विगाह सरकारी जग्गा समेत हडपेको विषयमा उहाँलाई राम्रोसँग जानकारी भएपनि खाली गराउन नसकिएको भन्दै निरीहपन देखाउनुहुन्छ । ‘हामी केही गर्न सक्दौनौ, माथि कुरा गर्नुहोस्,’ नेपालकैरनसँग संक्षिप्त कुरागर्दै पौडेलले बताउनु भयो ।

क्रसरले  सिंगो बस्तीमा असर पुर्याएको तथा सयौँ विगाह सरकारी जग्गा कब्जा गरेको भन्दै अहिले स्थानीयवासी आन्दोदित भएका छन् । ७२ जना स्थानीयले हस्ताक्षर गरेर गृहमन्त्रालय, वन मन्त्रालय,  उद्योग मन्त्रालय, विभिन्न संसदीय समिति तथा अख्तियार लगायतका निकायमा छानविन र कारबाहीका लागि उजुरी दिएका छन् ।  क्रसरले उडाएको धुलो, धुँवा र चर्को होहल्लाका कारण स्थानीयको जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । प्रकृतिक स्रोत साधनको अनियन्त्रित दोहन भइरहेको छ ।

‘धुवाँ र धुलोले साहेवगन्जका प्रत्येक घरमा दमका बिमारी भेटिन्छन् । रुघाखोकी त उनीहरुका लागि सामान्य भइसक्यो । कतिपयलाई त क्यान्सर समेत भएको छ, लक्ष्मीप्रसाद गौमत भन्नुहुन्छ, पानीका मुहान समेत दुषित भएका छन् । मानिस मात्रै होइन गाईवस्तु समेत बिरामी पर्न थाले, हामीलाई त बाच्नै गाह्रो भयो ।’ अहिले सिडियो सापको आदेशले क्रसर बन्द भएको छ, यसले निरन्तरता पाओस् ।

मापदण्ड विपरीत संचालित क्रसरका बारेमा समाचार प्रकाशित भएकोमा क्रसरका संचालक मध्येका एक पुरन अधिकारीले नेपालकैरनलाई टेलिफोन गरेर समाचार प्रकाशित नगरिदिन अनुरोध गर्नुभएको छ ।  ‘मैले नियम अनुसरा नै व्यवसाय संचालन गरिरहेको छु, बुझ्नु पर्ने केही भए यहिँ आउनुहोस् तर समाचार प्रकाशित नगरिदिनुहोस् ।’  सयौ विगाह सरकारी जग्गा कब्जा गर्नु भएको रहेछ नि ? भन्ने प्रश्नमा चाहीँ उहाँले कुनै जवाफ दिनु भएन ।

क्रसर कै कारण शिक्षण संस्था प्रभावित 

क्रसर रहेको स्थान भन्दा करिब ५० मिटिरमा कालिञ्जोर माध्यमिक विद्यालय छ भने करिब २ सय मिटर नजिक फौदसिहं माध्यमिक विद्यालय छ । क्रसरबाट उडेको धुलो र चर्को होहल्लाका कारण विद्यालयको पठनपाठमा समेत गम्भिर असर परिहेको कालिञ्जोर माध्यमिक विद्यालय प्रधानाध्यापक दुर्गानन्द झा बताउनुहुन्छ । धुलो र होहल्लाका कारण विद्यालयमा पढाउने वातावरण नै छैन, उद्योग हटाइदिनु भनेर वडा कार्यालय र प्रहरीमा पटक पटक लिखित पत्र पठायौँ तर कसैले सुनेनन्, शिक्षक धुलो र धुँवामा निसास्सिएर पढाइरहेका छौँ, विद्यार्थीले उकुसमुकुस भएर पढिरहेका छन्, प्रधानाध्यमक झा भन्नुहुन्छ । क्रसरकै कारण नजिकैको फौदसिहं माद्यमिक विद्यालयमा पनि गम्भिर असर परिहेको छ । धुलो र धुँवाका कारण विद्यालयमा पढ्ने/पढाउने वातावरण नै छैन, उद्योग सार्न पटक पटक अनुरोध गर्यो, तर गद्योगले गुण्डा लगाएर उल्टै थर्काउछ, फौदसिहं माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर पूर्वछाने मगर बताउनुहुन्छ । विद्यालय आउने बालबालिका श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रसित भएको उहाँको भनाई छ ।

क्रसरसँगै रहेको कालिन्जोर मावि (दायाँ) र क्रसर हटाउनको लागि विद्यालयले वडा कार्यालय, नगरपालिका र प्रहरीमा दिएको निवेदन (बायाँ)
कस्तो छ क्रसर संचालनको मापदण्ड ?

गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ । मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट ५०० मिटर, खोला वा नदी किनारवाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ मिलोमिटर, पक्की पुलबाट ५०० मिटर, अन्तर्राष्ट्रिय सिमाबाट २ किलोमिटर, वन, निकुञ्ज तथा आरक्षबाट २ मिलोमिटर, घना बस्तीबाट २ किलोमिटर, हाइटेन्सन लाइनवाट २०० मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५०० मिटर, चुरे पहाडको फेदीबाट १५०० मिटर दूरीको मापदण्ड कायम गरेको छ । 

गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ ले गरेको मापदण्ड अनुसार ‘प्रिन्स क्रसर’ले यी कुनैपनि मापदण्ड पूरा गरेको छैन । कालिन्जोर मा वि बाट ५० मिटर र फौदसिंह मा वि बाट २०० मिटरको दूरीमा क्रसर रहेको छ । यस्तै घना बस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने मापदण्ड विपरीत यो क्रसर उद्यो्ग घनावस्ती बीचमै छ । वन, निकुञ्ज तथा आरक्षबाट २ मिलोमिटर टाढा हुनुपर्ने मापदण्डको धज्जी उडाउँदै यो क्रसरले वनकै ५० विगाह भन्दा धेरै क्षेत्र कब्जामा लिएर क्रसर संचालन गरिरहेको छ ।


सम्बन्धित समाचार...

बस्तीबीचमा क्रसर उद्योग, साढे ४ सय परिवारको उठिबास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै