+

कला र साहित्यको सङ्गम ‘कालो सूर्य’

काठमाडौँ । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचार सम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी काठमाडौँमा शुरु भएको छ । 

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावलाई २५ चित्रमा उतार्नुभएको छ । उहाँले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्कनुभएको छ, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उहाँले अब भाषाविहीन बनाइदिनुभएको छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आज नेपाल कला परिषदमा ‘कला र साहित्यको सङ्गम ः कालो सूर्य’ विषयक चित्रकला प्रदर्शनी उद्घाटन गर्दै कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्याउन सफल भएकामा प्रशंसा गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि शुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताउनुभयो । 

चित्रकार इन्दु पन्तले कलामार्फत जीवन्त बनाउनुभएको बताउँदै उहाँले भन्नुभयो– ‘ भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले  विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।’

चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेख्नुभएको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस भएको बताउनुभयो । 

अहिलेसम्म कलाकार पन्तले तीनवटा एकल प्रदर्शनी गरिसक्नुभएको छ । जारी प्रदर्शनीमा कालो सूर्य पुस्तकमा आधारित २५ र अन्य दुईसहित २७ चित्र प्रदर्शनीमा समावेश  गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै