+

धार्चे गाउँपालिकाका अध्यक्ष राजनीतिसँगै माछापालनमा रमाउँदै

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेशामा पनि उत्तिकै छ । स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेशाको लगाव घटेको छैन । 

धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ फार्ममा बिताउनुहुन्छ । त्यसैबाट हुने आम्दानीले आफ्नो र सिङ्गो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उहाँ बताउनुहुन्छ । 

पालिकाको केन्द्र रहेको माछीखोलाबाट करिब २० मिनेटमा पुगिने खोर्लाबेँसीमा रहेको अग्र्यानिक फार्ममा उहाँ सकभर हरेक साँझ बास बस्न पुग्नुहुन्छ र फार्ममा रहेका माछापोखरी डुलेर दिनभरिको थकाइ मेट्नुहुन्छ । खोर्लाबेँसीमा गुरुङले करिब १२ रोपनी क्षेत्रफल जमिनमा नौवटा पोखरी निर्माण गरेर व्यावसायिक रेन्वो ट्राउट माछापालन गर्दै आउनुभएको हो ।

‘धार्चेमा धेरै चिसो पानी बगिरहेको छ, यसलाई उपयोग गर्नुपर्यो भनेर व्यावसायिकरूपमा रेन्व्रे ट्राउट माछापालन गर्न शुरु गरिएको हो’ उहाँले भन्नुभयो । उहाँले बाह्य पर्यटकलाई लक्ष्य गरेर २०६७ सालमा निर्माण गरिएको अग्र्यानिक होमलाई रुपान्तरण गरेर अहिले साझेदारीमा ट्राउट एण्ड अग्र्यानिक होम सञ्चालन गरेको बताउनुभयो ।

ट्राउट एण्ड अग्र्यानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो रु एक हजार सात सयमा बिक्री हुने गरेको उहाँको भनाइ छ । ‘अग्र्यानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाले ट्राउट माछा प्रतिकिलो रु दुई हजार तिनुपर्छ, घर लैजानेले प्रतिकिलो रु एक हजार सात सयमा पाउँछन्उ’ हाँले भन्नुभयो ।

आजभोलि मनास्लु पदयात्रामा जाने आउने पर्यटकसमेत ट्राउट एण्ड अग्र्यानिक होममा बसेर ट्राउट माछाको स्वाद चाखेर मात्र फर्कने गरेको उहाँले बताउनुभयो । ‘दैनिक ६–७ किलो माछा बिक्री हुन्छ, माघमा तातोपानी मेलाको समयमा त दैनिक २–३  क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ’ उहाँले भन्नुभयो । 

फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्नेसमेत गुरुङले बताउनुभयो । ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो । अहिले ट्राउट एण्ड अग्र्यानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ । यसबाट राम्रो आम्दानी हुँदै आएको छ, उत्पादित माछा अधिकांश स्थानीय बजारमा खपत हुने गरेको भए पनि केही भने आरुघाट बजार बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।
 
रेन्वो ट्राउट माछा दुई वर्षमा तीन सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने भएकाले पनि ग्राहकको रोजाइ पर्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।  उहाँले अग्र्यानिक फार्ममा माछापालनबाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफीखेती र  लोकल कुखुरापालन गर्दै आउनुभएको छ । धार्चेमा चिसो पानी भएकाले ट्राउट माछापालनको प्रशस्त सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । धार्चेका किसानलाई हौसला प्रदान गर्नका फार्ममै भुरा उत्पादनका लागि ह्याचरीसमेत सञ्चालन गरिएको छ ।  फार्म सञ्चालनका लागि करिब ३ करोड रुपैयाँ लगानी भएको उहाँले जानकारी दिनभयो । 

ट्राउट एण्ड अग्र्यानिक होममा माछाका लागि दाना उत्पादन गर्नका लागि एक तालिम प्राप्त व्यक्तिलाई शेयर सदस्यका रूपमा राखिएको उहाँले बताउनुभयो । सामूहिकरूपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देश्य छ । बाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहर फाल्ने ठाउँ धार्चेलाई बनाउनु हुँदैन, धार्चेको उत्पादनले बजारलाई आत्मानिर्भर बनाउनुपर्छ गुरुङले भन्नुभयो ।

अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अग्र्यानिक होम बाह्यभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उहाँको भनाइ छ । ग्रामीण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उहाँले बताउनुभयो । धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको बस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सिर्जना हुन्छ, त्यसो गर्दा स्थानीय किसानको आयआर्जन वृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष गुरुङको छ । 

फार्मबाट अहिले वार्षिक एक लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । ‘फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ’ उहाँले भन्नुभयो, ‘भुराको माग भए त १ लाख रुपैयँँसम्म पनि उत्पादन गर्न सकिन्छ ।’ 

एउटा उमेर पुगेका माछाबाट १ सय ५० ग्राम अण्डा उत्पादन हुन्छ भने १ ग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाई छ । फार्ममा अहिले भुरा उत्पादनका लागि ६ सय वटा पोथी माछा रहेको छ । फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै