+

माओवादी लडाकू पूर्णकुमार बाख्रामा रमाउँदै

इलाम । कुनै बेला नेकपा माओवादीको  लडाकू बनेर सशस्त्र युद्धमा होमिनुभएका फाकफोकथुम गाउँपालिका–४ का पूणर्कुमार राई (दिपेन)  अहिले बाख्रासँग रमाइरहनुभएको छ ।  पूणर्कुमारले ६ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम–४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभएको हो । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा  २०७५ सालमा ‘जुरीथुम्का बाख्रापालन’ फार्म दर्ता गरेर उहाँले व्यावसायिक बाख्रापलन गर्न थाल्नुभएको हो ।

‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्रयुद्धका लडाकू थिएँ ।  २०५८ सालमा कक्षा ७ मा पढ्दापढ्दै राज्यव्यवस्था परिवर्तनका लागि भन्दै आन्दोलनमा होमिएको हुँ’ उहाँले भन्नुभयो– २०६२ ६३ जनआन्दोलनपछि शान्तिप्रक्रिया भएसँगै जीवनको यात्रा पनि मोडियो ।’ २०६७ मा दुबई गएर ६ वर्षपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर फर्केको उहाँको भनाई छ । 

‘२०७३ सालमा करिब  १८ लाख रुपैयाँ लिएर नेपाल फर्केको थिएँ । गाउँ फर्किएपछि फाकफोकथुम–५ लुम्देस्थित फावाखोला डाँडाको यथावामा ५६ रोपनी जग्गा ६ लाखमा खरिद गरेपछि मेरो व्यावसायिक कृषि र पशुपालनको यात्रा शुरु भयो’ उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमै बाख्रापालन फार्म सञ्चालन गरेपछि अन्य युवाले समेत गाउँमा स्वरोजगारीका लागि योजना बनाउन थालेका छन् । 

वैदेशिक रोजगारीबाट गरिएको बचत र बैंकबाट लिएको कर्जा  १० लाख गरी  २० लाख रुपैयाँको लगानीमा बाख्रापालन सञ्चालनमा ल्याएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा अहिले विभिन्न जातका सानाठूला गरी एक सय बढी बाख्रा छन् । स्थानीय तथा उन्नत जातका बाख्रासमेत थप गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँको फार्ममा बाख्रासँगै पशुतर्फ गाई र राँगा एवम् कृषितर्फ अलैँची, केरा, कफी, मेवा, लसुन, कागती खेती विस्तार गर्नुभएको छ । 

पूर्णकुमारले गाउँमै व्यावसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिरहनुभएको छ । व्यवासाय सुरु गरेपछि उहाँलाई घरखर्च टार्न कुनै समस्य छैन । ‘अहिले घरखर्च टार्न कसैलाई माग्नु परेको छैन । यही व्यवसायबाट सहजरुपमा जीविकोपार्जन भइरहेको छ’ उहाँले भन्नुभयो– ‘युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिदैँ गएका बेला म चाँही स्वेदशमै पसिना बगाउने सङ्कल्पका साथ यही व्यवसायमा लागिरहेको छु ।’

राईले वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेको बताउनुभयो । फुङ्ग धुलो उड्ने सुख्खा डाँडो अहिले हरियाली भएको छ । बाख्रापालनबाट सङ्कलन भएको मलबाट डाँडामा फलफूल, तरकारी खेती र अलैँचीका बोटले हराभरा भएका छन् । उहाँको मेहनतबाट स्थानीय किसानसमेत उत्साहित भएका छन् ।

पूर्णकुमारले आफ्नो ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि ७ सय रोपनी जग्गा भाडामा लिएको जानकारी दिनुभयो । रोजगारीका लागि विदेश जानु भन्दा गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उहाँको भनाई छ ।   

उहाँको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत  १० लाख रुपैयाँ अनुदान समेत पाएको छ । त्योअनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेको राईले बताउनुभयो । उहाँका अनुसार बोका, माउ बाख्रा, खसी एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेका छन् ।

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान शुरु गरेको राईको भनाई छ ।  ‘बेरोजगार युवा विदेशिने क्रम रोक्न तथा गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ’ उहाँले भन्नुभयो– ‘बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ । कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै