+

सरकारले साहसिक र जनपक्षीय काम गरेको छः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताउनुभयो ।

‘मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताका हितमा राम्रा काम मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा काम मात्रै गर्न निर्देशित गर्दछु्’ उहाँले भन्नुभयो– ‘यस अवधिमा सरकारबाट भएका कामलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी धेरै साहसिक र जनपक्षीय कामहरू भएका छन् ।’

सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै उहाँले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताउनुभयो । ‘शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ’ उहाँले भन्नुभयो– ‘अर्थतन्त्रका सूचकाङ्क सकारात्मक दिशातर्फउन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।’

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उहाँले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताउनुभयो ।

सरकारले चालेको सुशासनका कार्यबारे प्रधानमन्त्रीले भन्नुभयो– ‘नक्कली भूटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।’

मिटरब्याजपीडितका पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले  राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम भएको बताउनुभयो ।

उहाँले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्याइएको, किसानका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, विपन्न र असहाय नागरिकका लागि अस्पतालमा २ हजार ९ सय निःशुल्क श्यया तथा गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीलले नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै