+

सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन किन अवरुद्ध भयो इन्टरनेट ?

काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन आज देशभर इन्टरनेट सेवा अवरुद्ध भयो । भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । 

इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।

मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले जनाएका छन् । 

एयरटेलबाट ब्यान्डविथ आपूर्ति रोकिएपछि टाटा लगायतका वैकल्पिक कम्पनीका ब्यान्डविथ इन्टरनेट सेवा चलाइए पनि सुस्त छ । यसले गर्दा सेवाग्राहीहरु इन्टरनेट सेवा प्रयोग गर्नबाट वञ्चित हुन पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि पटक–पटक सञ्चार मन्त्रालयलाई पत्र लेखेर इन्टरनेट सेवा नै रोकिने अवस्था आउने भन्दै विदेशी मुद्रा सटही सुविधा दिन आग्रह गर्दै आएको थियो ।

तर, मन्त्रालयले इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुरको विवादलाई कारण देखाएर इन्टरनेट सेवाप्रदायक कम्पनीका अपस्ट्रिम इन्टरनेट सेवा प्रदायक कम्पनीलाई तिर्नुपर्ने रकम बराबर राष्ट्र बैंकबाट भुक्तानीका लागि विदेशी मुद्रा सटही गर्न आवश्यक सिफारिसपत्र रोक्दै आएको छ ।

करिब एक वर्षदेखि इन्टरनेट ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवाप्रदायकलाई अपस्ट्रिम कम्पनीले चरम दबाव सिर्जना गर्दै आएका छन् । इन्टरनेट सेवा रोक्ने पटक–पटकको चेतावनीका बीच बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन भारतीय कम्पनी एयरटेलले ब्यान्डविथको आपूर्ति बन्द गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै