+

‘चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताउनुभएको छ । 

चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता हुनुभएका महासचिव गुरुङले आज  संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधँै तत्पर रहेको उल्लेख गर्नुभयो । 

‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ’ उहाँले भन्नुभयो–  ‘चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ ।’

महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पु-याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।

फरक प्रसङ्गमा महासचिव गुरुङले वर्तमान सरकार संसद्को पुरै कार्यकालसम्म टिक्ने बताउनुभयो । ‘संसद्को बाँकी समयसम्म यही समिकरण जान्छ’ उहाँले भन्नुभयो ।  नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाले सत्ता समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।  महासचिव गुरुङले भर्खरै भएको तेस्रो लगानी सम्मेलन सफल भएको बताउनुभयो । देश विकासका लागि मुख्य कुरा आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव  छ । 

‘देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो । तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो’ महासचिव गुरुङले भन्नुभयो । 

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं माओवादी केन्द्रका नेता डा दीपेन्द्र रोकायाले नेपालको विकासका लागि चीनबाट शिक्षा लिन सकिने बताउनुभयो । भ्रमणको अनुभव सुनाउँदै उहाँले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । औद्योगिक रुपमा सम्पूर्ण देशलाई अगाडि बढाउन नसक्दासम्म देश अगाडि नबढ्ने उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै