+

व्यापार–व्यवसाय फस्टाए मात्र श्रमअधिकार स्थापित हुन्छः मुख्यमन्त्री अधिकारी

पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले आज  पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले राष्ट्रिय पूँजी निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण रहेको भन्दै संविधानप्रदत्त श्रमअधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।  ‘स्वदेशमै रोजगारी सिर्जना गरी नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न प्रदेश सरकार रोजगारदासँग आवश्यक सहकार्य र सहजीकरणका सँगसँगै अगाडि बढ्न तयार छ’ उहाँले भन्नुभयो । 

 ‘पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सरकार सबैसँग हातेमालो गर्न चाहन्छ’ उहाँले भन्नुभयो । समृद्ध प्रदेश स्वरोजगारका कार्यक्रम ल्याएर युवालाई स्वदेशमै श्रम  गर्ने वातावरण बनाउनका लागि आफूले हरसम्भव प्रयास गर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) की नेतृ गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदूरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । उहाँले समान काममा लैङ्गिक  आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

मजदूर नेता मुरारी शर्माले मजदूर हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

यसअघि पोखराको बसपार्कर्वबाट श्रमिकसहित -याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक  सुरक्षा कोषको ग्यारेन्टी गर, मङ्हगी  नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारा लगाइएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै