+

कृषिमा रमाएका खड्का दम्पती

रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उहाँकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । ५२ वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेशामा आवद्ध हुनुहुन्छ ।

अहिले पनि उहाँको कृषिप्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् ।

सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताउनुभयो । ‘बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ’ उहाँले भन्नुभयो– ‘जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११÷१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्÷छैनन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ ।’
 
चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ । उहाँको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । ‘१५ वर्षदेखि कृषि पेसामा आवद्ध छौँ । पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो, बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो’ उहाँले भन्नुभयो– मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गछिन् ।’

खड्का दम्पतीको ७ जनाको परिवारमा २ छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् ।
कृषिमा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाई छ । ‘कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै  छोरालाई विदेश पठाउँदैन्’ उहाँले भन्नुभयो– ‘स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो ।’ खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाउनुभयो ।

मनै लोभ्याउने सुन्तला बगैँचा
२०६२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्नुभएका खड्काको बारीमा अहिले ३ हजार ६ सय सुन्तलाका बोट छन् । जसमध्ये करिब ५सय बोटले फल दिन थालेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन शुरु गर्ने चन्द्रबहादुरले बताउनुभयो । गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उहाँको भनाई छ ।

गतवर्ष सुन्तला बिक्रीबाट ३ लाख ७५ हजार रुपैयाँ कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताउनुभयो । बारीबाटै ४५ देखि ५० रुपैयाँसम्म प्रतिकिलो  बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन् ।

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गुर्नभएको छ । गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात ४ सय ७ किलो बिक्री गरेर ५ लाख रुपैयाँ आम्दानी गर्नुभएको सुनाउनुभयो । अलैँची पनि गाउँबाटै प्रतिकिलो १ हजार ३ सय रुपैयाँमा बिक्री हुने गरेको उहाँको भनाई छ ।

हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक ३ लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गर्नुभएको छ । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । आफूले व्यावसायिक रुपमा कृषि पेशा गरे पनि वास्तविक कृृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उहाँले दुखेसो पोख्नुभयो ।

अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र सम्मेटने गरिएको चन्द्रबहादुरको गुनासो छ । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उहाँले जानकारी दिनुभयो ।

एकजनालाई रोजगारी
परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिनुभएको छ । मासिक  १२ हजारका दरले एक जना कामदारले काम गरिरहनुभएको उहाँले बताउनुभयो । कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उहाँको भनाई छ ।

‘वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक सातासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्’ उहाँले भन्नुभयो । अलैँची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उहाँले बताउनुभयो । ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पु¥याउन समस्या हुने गरेको उहाँको भनाई छ ।

त्यही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताउनुभयो । गत वर्ष २५ क्विन्टल सुन्तला र २ सय ४० किलो अलैँची बिक्री गरेर ५ लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।

वडामा छैन तथ्यांक
किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्यांक राखेको छैन् । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्यांक नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो ।

वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाठाले बताउनुभयो । ‘किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ ? कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्’ उहाँले भन्नुभयो । उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उहाँको भनाई छ ।

एउटै वडाबाट १ करोड २० लाखको सुन्तला बिक्री
त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नम्बर वडाका किसानले मात्रै गतवर्ष १ करोड २० लाख रुपैयाँको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् । 

प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । ५ रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । 

गतवर्ष वडामा २ हजार ४ सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो  ५० रुपैयाँका दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै