+

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

तनहुँ ।  शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो । 

सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताउनुभयो । सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उहाँले जानकारी दिनुभयो ।

गुरुङले सहकारी संस्थाको ३४ वटा इकाइका सदस्यलाई तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयोÞ– ‘सदस्यहरूले उत्पादन गरेको कृषि उपज सामग्री बजारीकरणका लागि सहकारी संस्थाले सहयोग गरिरहेको छ ।’

शुक्लागण्डकी नगरपालिका–२ का सदस्यलाई बाख्रापालन व्यवसाय विकास गर्न दुईवटा उन्नत जातका बोका अनुदानको रूपमा सहयोग गरेको छ । सहकारीले अकबरे खुर्सानी विकास गर्नका लागि वडा नम्बर ६ का सदस्यलाई बीउ वितरण गरेको छ भने कालीभञ्ज्याङ क्षेत्रमा नेट जाली, प्लाष्टिक टनेललगायत सामग्री प्रदान गरेको छ । 

संस्थाले सदस्यको उद्यमशीलता वृद्धि गर्नका लागि वडा नम्बर २ मा बेसार उत्पादनसम्बन्धी तालिम प्रदान गरी बीउ वितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार एक सय २० जना शेयर सदस्यलाई खाना पकाउने विद्युतीय चुलो समेत प्रदान गरिएको छ ।

विसं २०५९ जेठ ७ गते स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार सात शेयर सदस्य आवद्ध छन् । सहकारी संस्थामा ४  करोड ३२ लाख ६४ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । बचत  १८ करोड ५० लाख ३२ हजार एक सय ७१ रहेको सहकारीमा जगेडा कोष  एक करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । 

५० लाख रुपैयाँमा जग्गा खरिद गरी भवन निर्माण गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार हाल संस्थामा पाँच जना कर्मचारी छन् । सहकारीले चालु आर्थिक वर्षमा ३ हजार २ सय शेयर सदस्य वृद्धि गर्ने तथा शुक्लागण्डकी नगरपालिकासँग समन्वय गरी सदस्यले उत्पादन गरेका कृषि सामग्री बिक्रीका लागि हाटबजार सञ्चालन गर्ने योजना बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै