+

शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा, वर्षेनी ५ लाख कमाइ

बाग्लुङ  । उर्वर जीवन जागिर बिताएकाहरु अवकाशपछि प्रायः आराम गर्छन्, तर यहाँका एक जना वृद्ध ३७ वर्ष शिक्षण पेशामा बिताउँदा समेत थाक्नु भएको छैन । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।

शिक्षक पेशाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश प्राप्त गर्नुभएका खड्काले मासिक ३५ हजार रुपैयाँ पेन्सन बुझ्दै आउनुभएको छ ।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । उहाँले ८ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो । 

२ सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराख्नुभएका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेती समर्पित गराएको  बताउनुभयो । ‘परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ’ उहाँले आफ्नो विगत सुनाउँदै भन्नुभयो– ‘शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई ५ लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष  सुन्तला बिक्रीबाट ५ लाख कमाएको हो ।’

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन् । आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाई छ । यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहनुभएको छ ।
 
सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रूपमा परिचित सिगानाका करिब एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।  ‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाई छ’ उहाँले भन्नुभयो – ‘परम्परागत खेतीभन्दा सुन्तला खेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर ३ करोडसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।’

खड्काले ६ वर्षदेखि सुन्तलाबाट लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्का लगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै