+

सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ शुरु

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । 

गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा शुरुआत गरिएको हो । माप्य दूधकोशी–५, सिलगुढी डाँडामा शुक्रबार आयोजित समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरि बाँस्तोलाले संयुक्तरूपमा उक्त पदमार्गको शुभारम्भ गर्नुभएको छ। 

नयाँ निर्माण गरिएको पदमार्ग चार रात पाँच दिनको हुने माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो । सिलगुढीबाट, घुम्नेमेरा, कुधम, योतेलमा, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभिरलगायतका स्थानमा पदयात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य राजभण्डारीले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई यहाँ भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो’ उहाँले भन्नुभयो । टानका अध्यक्ष बाँस्तोलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा नयाँ पदमार्ग निर्माण गर्न पाउँदा आफूलाई ज्यादै हर्ष लागेको बताउनुभयो । ‘सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक १० लाख पर्यटक भित्र्याउन नसक्नु दुःखद् कुरा हो’ उहाँले भन्नुभयो ।

सरकारलाई  नेपालमा कति ट्रेकिङ गाइड छन् ? भन्ने कुरासमेत थाहा नहुँदा पर्यटन व्यवसायी मारमा परेका बाँस्तोलाको भनाई छ। टानले प्रादेशिक कार्यालय खोलेर अगाडि बढ्न चाहेको उहाँले बताउनुभयो । अध्यक्ष बाँस्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पदमार्ग निर्माण संयोजक तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले यो नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय माप्य दूधकोशी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको भन्दै यसलाई थप प्रभावकारीरूपमा अघि बढाउँदै लैजाने गाउँकार्यपालिका सदस्य प्रकाश खालिङले बताउनुभयो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताउनुभयो । नयाँ पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिने स्थानीय पर्यटन व्यवसायी मानवीर खालिङले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विश्व कीर्तिमान आरोही शेर्पा, माउण्टेन गाइड एशोसिएसन अफ नेपाललाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै