+

विद्यालय छाड्न बाध्य छन्, राजी बालबालिका

बाँके ।  राजी समुदायका बालबालिकाको अझै पनि शिक्षामा पहुँच पुग्न सकेको छैन । बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन् । बर्दियाको बारबर्दिया नगरपालिका–९ वनगाईका अनिस राजीले गाउँकै जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दापढ्दै गत वर्ष पढाइ छाड्नुभयो । अनिसको घरमा सातजना सदस्य छन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण पढाइ छाडेर मजदूरी गर्न शुरु गरेको अनिसले बताउनुभयो । 

अनिसको परिवारको करिब दुई कट्ठा मात्रै जग्गा छ । त्यही जमिनमा उत्पादन भएको खाद्यान्नले दुई–चार महिना पनि खान पुग्दैन । अनिस भन्नुभहुन्छ– ‘पढ्ने रहर भए पनि घरको अवस्थाका कारण पढाइ छाडेर मजदूरी गर्नुपर्ने अवस्था आयो ।’ घरको आर्थिक अवस्था कमजोर भएकै कारण अनिसको बुबा ज्याला–मजदूरी गर्न भारत जाने–आउने गर्नुहुन्छ । 

जनज्योति मावि कक्षा ८ मा पढ्दापढ्दै बारबर्दिया–९ वनगाईको केशर राजी २०७७ सालमा पढाइ छाड्नुभयो । उहाँको परिवारमा छजना सदस्य रहेका छन् । घरको आर्थिक अवस्था कमजोरकै कारणले पढाइ छाड्नु परेको केशरले बताउनुभयो । उहाँको परिवारका नाममा दुई कट्ठा मात्रै जग्गा रहेको छ । त्यसमा उत्पादन हुने खाद्यान्नले तीन महिना पनि खान पुग्दैन । घरपरिवार चलाउनुपर्ने जिम्मेवारी थपिएपछि केशर पढाइ छाडेर पछिल्ला दिनहरुमा रोजगारीका लागि बुबासँगै भारत जाने–आउने गरी रहनुभएको छ । 

बासँगढी–८ भैसासुरका क्षितिस राजी नेपाल राष्ट्रिय मावि लक्ष्मणपुरमा कक्षा १२ मा भर्ना हुनुभएको छ तर घरको काम पनि गर्नुपर्ने बाध्यताले नियमित रुपमा विद्यालयमा जान सक्नुभएको छैन । विद्यालय भर्ना भए पनि पढाइ पूरा नगर्दै विद्यालय छाड्नु पर्छ कि भन्ने चिन्तामा छन् । अनिस, केशर र क्षितिस त एक प्रतिनिधि पात्र मात्रै हुन् । गरिबी तथा आर्थिक अवस्था अभावका कारण राजी समुदायका अधिकांश बालबालिका विद्यालय तहको पढाइ पूरा नगर्दै विद्यालय छाड्ने गरेका छन् । 

विद्यालयमा भर्ना भएका राजी समुदायका विद्यार्थीमध्ये करिब ९० प्रतिशतले एसइई पास नगर्दै पढाइ छाड्ने गरेको बर्दिया बाँसगढीका राजी समुदायका अगुवा कृष्ण राजीले बताउनुभयो । गरिबी र पछौटेपनका कारण विद्यालयमा भर्ना भएका अधिकांश बालबालिका पनि एसएलसी तहको पढाइ पूरा नहुँदै विद्यालय छाड्ने गरेको पाइन्छ । राजी सुमदायका बालबालिकाको शिक्षा पहुँच बढाउनका लागि स्थानीय बाँसगढी नगरपालिकाले हरेक बालबालिकालाई पाठ्यपुस्तक, पोसाकसहित छात्रवृत्ति दिँदै आएको छ । 

त्यसैगरी, कक्षा ८ सम्म निःशुल्क शिक्षाको सुविधा उपलब्ध गराउँदै आएको छ । राजी सुमदायका बालबालिकाले कक्षा ८ सम्म पढ्दा कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने व्यवस्था मिलाइएको बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख क्षितिस पौडेलले बताउनुभयो । राजी समुदायका बालबालिकालाई जन्मने बित्तिकै सामाजिक सुरक्षा भत्ताबापत मासिक चार हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । राजी समुदायका बालबालिकालाई पोशाकसहित निःशुल्क पठनपाठनको सुविधा उपलब्ध भए पनि विद्यालय भर्ना भएका अधिकांश बालबालिका नियमितरुपमा विद्यायलयमा आउँदैनन् । आएकाले पनि ध्यान दिएर नपढ्ने र बीचैमा पढाइ छाड्ने समस्या छ । 

बालबालिकालाई विद्यालयमा टिकाउनका लागि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ । दिवा खाजा कार्यक्रमले कक्षा ५ सम्म राजी समुदायका बालबालिका विद्यालयमा आउँछन् । कक्षा ६ देखि विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको अनुभव बाँसगढीको रामजानकी माविका प्रधानाध्यापक शर्माको छ । राजीहरुको बसोबास बाँसगढी नगरपालिका–४ र ८ मा रहेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण राजी सुमदायका बालबालिका पढाइ छाडेर आफ्ना अभिभावकसँगै खेतीपाती र मजदुरी गर्न विवश छन् । केही युवा ऋण खोजेर पैसाको जोहो गरेर वैदेशिक रोजगारमा समेत गएका छन् । 

 सरकारले राजी समुदायलाई अल्पसङ्ख्यक आदिवासीको सूचीमा राखेर आजीवन भत्ता, निःशुल्क शिक्षालगायत उनीहरुको जीविकोपार्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपछि राजी समुदायको जीवनस्तरमा केही सुधारका सङ्केत देखिन थालेका छन् । बाँसगढीको राम जानकी माविमा राजी जातिका दुईजनाले सहयोगी कर्मचारीका रुपमा जागिरको अवसर पाएका छन् । पढाइलाई निरन्तरता दिएका केही राजी समुदायका विद्यार्थीले नेपाली सेनामा भर्ती भएर सरकारी जागिर सुरु गरेको विद्यालयका प्रधानाध्यापक शर्माले बताउनुभयो । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पूँजी नभएका कारण राजी समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश छन् । 

राजी अल्पसङ्ख्यक आदिवासी हुन् । राजी समुदायको बसोबास बर्दियाका अतिरिक्त बाँके, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न गाउँमा रहेको छ । जनगणना २०७८ अनुसार राजी समुदायको कूल जनसङ्ख्या चार हजार चार सय ३६ रहेको छ । राजी समुदायको मुख्य पेसा भनेको माछा मार्ने, डुङ्गा तार्ने, गिट्टी कुट्ने र जङ्गली तथा भिर मौरीको मह काढ्ने र बेच्ने हो । उनीहरु जङ्गल किनार नदी किनारमा पुस्तौँदेखि बस्दै आएका छन् ।  

राजी जातिको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । सरकारले राजी समुदायलाई अल्पसङ्ख्यक आदिवासीको सूचीमा राखेर जन्मनेबित्तिकै समुदायका सबै सदस्यलाई मासिक भत्ता दिँदै आएको छ । पछिल्ला दिनमा राजी समुदायका प्रत्येक सदस्यले वार्षिक चार हजार रुपैयाँ भत्ता पाउँछन् । त्यही भत्ताको रकमले उनीहरुले आफ्नो गुजारा चलाउँदै आएका छन् । अझै पनि अधिकांश राजी समुदायको आफ्नो नाममा जग्गा जमिन छैन । गाउँघरमै ज्याला मजदूरी गरेर, भारतका विभिन्न सहरदेखि खाडी मुलुकमा पुगेर मजदुरी गरेर कमाएको पैसाले परिवार चलाउँदै आएका छन् । 

बाँसगढी–४ मोतिपुरकी पार्वती राजी भन्नुहुन्छ– ‘हाम्रा पुर्खाहरुको पालादेखि नै हाम्रो समुदायका अधिकांश परिवारको आफ्नो नाममा जग्गा जमिन छैन ।’ पछौटेपन, गरिबी र शिक्षामा पहँुच नभएका कारण हाम्रो समुदायका मानिसले अझै पनि सरकारी जागिरको अवसर पाएका छैनन् । स्थानीय तह, प्रदेश र सङ्घीय सांसदका लागि हुने निर्वाचनमा राजी समुदायका मानिसले मतदान गर्दै आए पनि राजी समुदायको प्रतिनिधित्व गाउँ तथा नगरपालिकाभन्दा माथिल्लो तहमा अझै पुग्न सकेको छैन । 

अन्य जाति र समुदायमा जस्तो जातिका समुदायका मानिसबीच एकता पनि छैन । आर्थिक अवस्था अलि राम्रो भएका पढेलेखेकाले पनि आफ्नै समुदायका कमजोर र बेरोजगारलाई कुनै पनि किसिमको सहयोग नगर्ने भएका कारण राजी सुमदाय सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा पछाडि परेको पार्वती राजी बताउनुहुन्छ । 

राजी समुदाय प्रकृति पूजक समुदाय हुन् । राजी जातिको छुट्टै वेशभूषा, परम्परा र संस्कृति रहेको छ । उनीहरु विवाह मागेर, तानेर र भगाएर आफ्नै जातिसँग गर्ने गर्छन् । राजी जातिको वेशभूषा राजी पुरुषहरूले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका लगाउँछन् भने महिलाले गुन्यूचोली र घलेक र सेतो रुमाल लगाउँछन् । माछा मार्ने, डुङ्गा तार्ने, गिट्टी कुट्ने, र जङ्गली तथा भिरमौरीको मह काढ्ने र बेच्नजस्ता पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएपछि राजी समुदाय थप समस्यामा परेका छन् । समुदायका अधिकांश पुरुषहरु रोजगारीका लागि भारत लगायत खाडी मुलुकसम्म पुगेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिकाको मगरागढीमा बस्दै आएकी बिमला राजीका श्रीमान पाँच वर्षदेखि रोजगारीका लागि भारतमा छन् । बिमला भन्नुहुन्छ– ‘आफ्नो पुख्र्यौली पेशा माछा मार्ने भए पनि नदीमा माछा मार्न जाँदा स्थानीय सरकारले माछा मार्ने ठेक्का अर्कै समुदायका मान्छेलाई दिएको हुन्छ । आफूले ठेक्का पाएको भन्दै हामीलाई माछा मार्न समेत दिँदैनन् । हाम्रो गाउँघर नजिकको नदीमा गिट्टी कुट्ने काम पछिल्ला दिनहरुमा ठेकेदारहरुले बाहिरबाट अन्य जातिका मान्छे ल्याएर लगाउने गरेका छन् । नदीमा डुङ्गा चलाउन पनि गाउँ तथा नगरपालिकाले अरूलाई नै ठेक्का दिएपछि तिनीहरुको पुख्र्यौली पेशाबाट वञ्चित भएका छन् ।’ 

आफ्नो जग्गा जमिन छैन नदी र जङ्गलको किनारामा टहरा बनाएर बस्दा पनि सामुदायिक वन र डिभिजन वन कार्यालयले दुःख दिने गरेका गुनासो उहाँको छ । नेपालको संविधान २०७२ ले सबै नेपालीलाई बसोबासको सुविधा हुने व्यवस्था गरे पनि अल्पसङ्ख्यक आदिवासीका रुपमा रहेका राजी समुदायलाई बसोबासको व्यवस्था मिलाउनेतर्फ स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने माग राजी समुदायका अगुवा कृष्ण राजीको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै