+

शोधनान्तर १ खर्ब ४७ अर्ब ११ करोडले बचत

काठमाडौँ ।  मुलुकबाट बाहिरिने भन्दा भित्रिने पैसाको मात्रामा क्रमशः वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचत भएको हो । 

अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति  २० अर्ब ३ करोड रुपैयाँले बचतमा थियो ।  राष्ट्र बैंकले  बिहीबार सार्वजनिक गरेको विवतरण  अनुसार समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही  अवधिमा चालु खाता  ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ । 

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४६ दशमलव ६ प्रतिशतले कम भएर १ अर्ब ५९ करोड कायम भएको छ ।  खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड छ । अघिल्लो वर्षको यही अवधिमा पूँजीगत ट्रान्सफर २अर्ब ९७ करोड कायम भएको थियो  । खुद प्रत्यक्ष वैदेशिक लगानी  ४२ करोड ९२ लाख रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ । 

आर्थिक वर्ष २०८०र८१ को चार महिनामा कूल वस्तु आयात ३ दशमलव ८ प्रतिशतले कम भएर ५ खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २ दशमलव ५ प्रतिशत र २७ दशमलब ७ प्रतिशतले घटेको छ ।  चीनबाट भएको आयात ३४ दशमलब ४ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आएर ४ खर्ब ६१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा १५ दशमलब ९ प्रतिशतले घटेको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै