तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गर्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलामा लाग्नुभएका महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
२०६४ सालदेखि सुन्तला खेतीमा आवद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उहाँले भन्नुभयो– ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’
उहाँले २०७६ सालमा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहनुभएको छ । उहाँका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उहाँले यस वर्ष कालीमाटीमा प्रतिकिलो एक सय २० रुपैयाँ सम्म सुन्तला बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘गत वर्ष ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’
नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहँुँले करिब ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिन लगायत सामग्री अनुदान दिएको थियो ।
उहाँले यस वर्ष ४ करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिनुभयो । म्याग्दे गाउँपालिकाका किसानबाट १ करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट २ करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा खरिद १ सय २० रुपैयासम्म बिक्री गर्ने गरेको सुनाउनुभयो ।
तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो । जिल्लामा यस वर्ष ३ हजार ७ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।
कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । त्यस अवधिमा ३ हजार ६ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका ८ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती बिस्तारको सम्भावना रहेको छ ।
कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भन्नुभयो– १कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’ तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढ लगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर