+

मौरीपालनले बदलिएको जीवन

लमजुङ । सुन्दरबजार नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय मीनबहादुर गुरुङको जीवन स्तर  मौरीपालन व्यवसायले बदलिएको छ । 

गुरुङ सिकर्मीको काम छाडेर  २०६८ सालमा थप आयआर्जनका लागि कतार जानुभयो । त्यहाँ एक महिना काम गर्नुभएका उहाँले मासिक तलब नेपाली १७ हजार जति पाउनुभयो ।

यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किनुभयो । विदेश जाँदा लागेको एक लाख ५० हजार ऋण पनि तिर्न बाँकी नै थियो ।

स्वदेश फर्कनासाथ उहाँले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आउनुभयो । अलिअलि रकम जम्मा गर्दै ३ हजार ५ सयले शुरुमा एक घार मौरीसहितको घार खरिद गर्नुभयो । त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाउनुभयो ।

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थाल्नुभएका व्यवसायी गुरुङले २०६९ सालमा युवा लक्षित कार्यक्रमबाट४० हजार अनुदान प्राप्त भएपछि त्यो  रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिनुभयो । २०७३ सालमा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गर्नुभएका उहाँले मौरीपालनमात्र नभई मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाल्नुभयो ।

सत्र जनालाई रोजगारसमेत दिलाउनुभएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताउनुभयो । उहाँका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर वर्षेनी तीन करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । आठ–नौ वर्षदेखि सबै खर्च कटाएर  २५ लाखदेखि ३६ लाख रुपैयाँसम्म मुनाफा हुँदै आएको छ । प्रतिकिलो  एघार सयमा मह बिक्री गर्दा गत वर्ष ३ करोड ७६ लाख रुपैयँँ बराबरको कारोबार भएकामा यस वर्ष हालसम्म ८ लाख रुपैयाँ कमाई सक्नुभएको छ ।

उत्पादित मह लमजुङसहित काठमाडौँ, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाई छ । 

मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफैँ पुगेर हेरचाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन् । व्यवसायी गुरुङले भन्नुभयो– पहिला खानालाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ । गरिब भएकै कारण अरुले हेला गर्दर्थे । धेरै दःुखकष्ट व्योहोर्नुपर्यो तर अहिले धेरै राम्रो भएको छ । त्यतिबेलाको दुःख भुलेको छु । मौरी व्यवसायबाटै सफलता हुँदा यस पेशाले मेरो भाग्य नै बदलियो ।’

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नम्बर ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उहाँले जोडिसक्नुभएको छ । गायक पशुपति शर्माले गाउनुभएको गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उहाँले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिनुभयो । आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिनुहुने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै  २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसक्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै